काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्ष मोर्चाका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई छाड्न संकेत गरेका छन् ।
भिजिट भिसामा गृहमन्त्री रमेश लेखकले मानव तस्करी गरेको आरोपसँगै विपक्ष मोर्चामा माओवादीसहित रास्वपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत दल एक ठाउँमा थिए ।
पछिल्लो समय विपक्ष मोर्चाबाट माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा अध्यक्ष महेन्द्र राय यादवलगायत दल संसद चल्न दिने अवस्थामा आएका हुन् ।
माओवादीसहित तीन दलले गृहमन्त्रीको भिजिट प्रकरणमा राजीनामा र छानबिन समिति बनाउने अडान छाडेपछि रास्वपा मात्रै एक्लै परेको हो । रास्वपासँग प्रभु साह र राप्रपा के गर्छन् ? भन्ने मात्रै हुन् । नभए अब गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउने पक्षमा रास्वपा एक्लै हुने देखिएको छ ।
तर, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले माओवादीसहित विपक्ष दल एउटै ठाउँमा भएको प्रतिक्रिया दिए । ‘यति धेरै सर्वसाधरणले देखेको विषय यति धेरै देशको दुरदराजमा पुगेको भिजिट भिसा प्रकरणको विषयमा सामान्य छानबिन समिति बनाएर हुँदैन, शक्तिशाली आयोग वा संसदीय छानबिन समिति बनाउनु पर्छ,’ उनले भने, ‘यदि, गृहमन्त्रीबारे छानबिन समिति वा आयोग नबनेसम्म संसद चल्न दिँदैनौँ, अवरोध जारी रहन्छ ।’
अध्यक्ष प्रचण्डले संसद अवरोधको अडान छाड्नुअघि एकीकृत समाजवादीले छोडेको थियो । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाको सर्वोच्च अदालतबाट फैसला आएपछि प्रचण्ड संसद अवरोधबाट पछि हटेका आंकलन गरिएको छ ।
उपाध्यक्षको अदालतबाट पूर्णपाठ नअएकाले त्यसमा सत्ता पक्ष खेल्न खोजेपछि प्रचण्ड संसद अवरोधबाट पछि हटेको हुन सक्ने धेरैले बुझाई छ । यति हुँदा पनि सजिलै संसद खुल्ने अवस्था देखिएको छैन । जसका कारण बजेटमाथिको छलफलसहित महत्वपूर्ण विधेयक पारित हुन नसकेको हो ।