काठमाडौं । टिकटकमा सर्वाधिक फ्लोअर भएका टिकटक स्टार खाबी लेम अमेरिकामा पक्राउ परेका छन् ।
टिकटकमा १६ करोड २० लाख फलोअर्स भएका यी स्टारलाई गत शुक्रबार नेभाडामा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले भिसाको म्यादभन्दा धेरै समय बसेको भन्दै पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आफ्नै देश इटाली डिपोर्ट गरिएको अमेरिकी संचार माध्यमले जनाएका छन् । ‘स्वेच्छिक प्रस्थान अनुमति’ गर्ने सर्तमा उनलाई रिहा गरिएको हो ।
‘लेम अप्रिल ३० मा अमेरिका प्रवेश गरे र भिसाको सर्त नाघेर बसे, त्यसपछि उनलाई हिरासतमा लिइयो, तर सोही दिन रिहा गरियो, युनिसेफको सद्भावना दूत रहेका इटालियन नागरिक त्यसपछि अमेरिका छोडेर गएका छन्’ आइसीईले भनेको छ ।
मंगलबार बिहानसम्म लामेले घटनाको बारेमा सार्वजनिक रूपमा कुनै पोस्ट गरेका थिएनन् । यद्यपि, ब्यारोन ट्रम्पका नजिकका सहयोगी, सामाजिक सञ्जालका प्रभावकार बो लाउडनले एक्समा यस घटनाबारे पोस्ट गर्दै लामेलाई लास भेगासमा पक्राउ गरिएको र हेन्डरसन डिटेन्सन सेन्टरमा राखिएको दाबी गरे ।
सेनेगलमा जन्मेका लामे एक इटालियन नागरिक हुन् । जो १६ करोड २२ लाख फलोअर्सका साथ अत्यधिक लोकप्रिय टिकटक सामाजिक सञ्जालको शीर्ष स्थानमा छन् ।
कोभिड १९ महामारीको समयमा इन्टरनेटमा उपलब्ध ट्यूटोरियल र सुझावको मजाक उडाउने मौन भिडियोमार्फत पहिचान बनाएका थिए ।