काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा साढे १३ खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीले १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स स्वदेश पठाएका हुन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार १० महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १६.९ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै एक खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १५ अर्ब ९९ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई नौ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या चार लाख ५ हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३ सय १४ रहेको छ ।
उक्त अवधिमा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या कुल ६ लाख ८५ हजार ९२४ जना पुगेको छ ।