अमेरिकामा एकै परिवारका चार नेपालीको शव फेला

0 Shares

काठमाडौं । अमेरिकामा चार नेपालीको गोली लागेर मृत्यु भएको छ । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या भएको आशंकामा अनुसन्धान गरिरहेको छ ।

मानेसास पार्क प्रहरीका अनुसार जुन ५ को राति १०ः४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो ।

घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो । मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक र ८ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको जनाएको छ । सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ ।

प्रहरीले यस घटनालाई घरभित्रै सीमित रहको पारिवारिक हत्याको रूपमा लिएको छ । बाहिरी व्यक्तिको संलग्नता नदेखिएको दाबी गरेको छ । तर, गोली चलाउने व्यक्ति को हुन् भन्ने सार्वजनिक गरिएको छैन ।

उनीहरू करिब ६ महिनाअघि उक्त घरमा बसाइँ सरेका थिए । मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो । जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण–पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्छ ।

सोही स्थानमा यसअघि नरेश भट्टले आफ्नी श्रीमती ममता काफ्लेको शव गायब बनाएका थिए । श्रीमतीको शव गायब बनाएका उनी जेलमा छन् ।

सम्बन्धित समाचार