उपनिर्वाचका लागि आज मनोनयन दर्ता हुँदै

0 Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज शनिबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदै छ । इलाम २ र बझाङ १ (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।

इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार दुवै क्षेत्रको मनोनयन दर्ता सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा हुने छ । मनोनयनपत्र दर्ता बिहान १० देखि ५ बजेसम्म हुने छ । इलाम र बझाङको चैनपुरमा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अनुसार चैत २४ गते उम्मेदवारी दर्ता र उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन हुने छ । उम्मेदवारी दर्ता भएको भोलिपल्ट चैत २५ उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।

चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ ।

सम्बन्धित समाचार