राइड सेयरिङका नाममा चर्को भाडा असुल्ने सय जना कारबाहीमा परे

0 Shares

काठमाडौं। सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयरिङका नाममा बढी भाडा असुल गर्ने सयभन्दा बढी राइडर प्रहरी कारबाहीमा परेका छन्। अहिलेसम्म १०२ जना कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

राइड सेयरिङका नाममा बढी भाडा असुल गर्ने ६ जनालाई पाँच हजार रुपैयाँका दरले जरिवाना तिराएको छ। यस्तै, बाँकी ९६ जनालाई ५०० र सोभन्दा माथि जरिवाना तिराएको छ।

गण्डकी प्रदेश सरकारले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिँदा यातायात ठप्प भएको हो।

व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारी साधन नहुने पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई मुस्किल भएको छ।

यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन्। सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभलगायतमा महंगो भाडा तिर्नुपरेको उनीहरुले बताएका छन्।

सम्बन्धित समाचार