कम्पनी रजिष्ट्रारको कार्यालयले अब सबै सेवा अनलाइनबाटै दिने

0 Shares

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालले कम्पनी रजिष्ट्रारको कार्यालयमा भौतिक उपस्थिति हुनुपर्ने अवस्थाको अन्त्य गरेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालले २०८१ फागुन १९ देखि कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (सीएएमआईएस-CAMIS) का सबै मोडयूलहरूलाइ पूर्ण रूपमा कार्यान्वयनमा ल्याएसँगै कम्पनी प्रशासन सम्बन्धी कामका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा भौतिक उपस्थिति नभइकनै सेवा लिन सकिने भएको हो ।

रजिष्ट्रार इश्वर कुमार गिरीले २०८१ असारबाट परिक्षणको रुपमा प्रयोगमा ल्याइएको सीएएमआईएस सफ्टवेयर प्रणालीलाई फागुन १९ देखि पूर्ण कार्यान्वयनमा ल्याएसँगै कम्पनी संस्थापना, सञ्चालन तथा प्रशासन सम्बन्धी कार्यलाइ सुगम, सरल र थप पारदर्शी भएको बताए । यसबाट कम्पनी प्रशासन सम्बन्धी कामकारवाहीहरू पूर्ण रूपमा अनलाइन माध्यमबाट सहज र शीघ्र सम्पादन भइ निजी क्षेत्रको उद्योग, व्यापार र व्यवसायमा लगानी प्रबर्द्धन गरी आर्थिक विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।

उनका अनुसार सीएएमआईएस सफ्टवेयर प्रयोगमा आएसँगै भौतिक रूपमा कार्यालयमा उपस्थित नभईकन कम्पनी दर्ता देखि खारेजीसम्मका सम्पूर्ण प्रकृयाहरूमा कम्पनीहरूले प्रणालीबाट कार्यालयमा आवेदन दिन सक्ने छन् । प्राप्त आवेदनहरू प्रणालीबाटै स्वचालित रूपमा राउन्ड रोबिन आधारमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने गरिएको जानकारी दिए ।

सीएएमआईएसबाट नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहबाट नै टुङ्गो लगाइने गरिएको छ । सम्बन्धित शेयरधनी, सञ्चालक वा निवेदक पक्षको सनाखत लगायत भौतिक उपस्थितिबाट चेकजाँच गर्न आवश्यक पर्ने प्रकृतिका आवेदनहरू बाहेक अन्य सबै आवेदनहरू अनलाइन प्रणालीबाटै टुङ्गो लगाइ सो सम्बन्धी पत्र, विवरण लगायत कागजातहरू डिजिटल हस्ताक्षर गरी सम्बन्धित कम्पनीको अनलाइन अकाउन्टमा स्वचालित रूपमा पठाइने गरिन्छ।

उप रजिष्ट्रार देवि प्रसाद सुवेदीका अनुसार सम्बन्धित पक्षबाट आवेदन पेश भएपश्चात कम्पनी रजिट्रार कार्यालयमा सो आवेदनका लागि तोकिएको कर्मचारी र तत्पश्चात कुन तहमा सो आवेदन पेश भएको छ, सो विषयमा अनलाइन प्रणालीबाटै सम्बन्धित कम्पनीलाइ सूचना दिइने गरिएको छ । यसपूर्व सञ्चालनमा रहेको प्रणालीका सम्पूर्ण निवेदन तथा कागजातहरू सम्बन्धित कम्पनीले प्रणालीमा नै हेर्न सक्नेछन् ।

कम्पनीका शेयरहोल्डरको पहिचानको विवरणका लागि राष्ट्रिय परिचयपत्र प्रणाली, करदाताको प्यान नम्बर लिने कार्यका लागि आन्तरिक राजस्व सूचना प्रणाली र कम्पनीको लेखापरीक्षण गर्ने लेखापरीक्षकको युडिआइएन नम्वरको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्रणालीसँग आबद्ध गरिएको छ। यसैगरी उद्योग विभाग लगायत अन्य सरकारी निकायका प्रणालीहरूसँग समेत अन्तरआवद्धता गर्दै लगिने उनले बताए ।

हालसम्म पब्लिक कम्पनी २ हजार ३१४ वटा, प्राइभेट कम्पनी ३ लाख ४७ हजार २२९ वटा, विदेशी लगानी भएका कम्पनी ४ हजार ५११ र मुनाफा वितरण नगर्ने कम्पनी ६ हजार १५९ गरी जम्मा ३ लाख ६० हजार २१३ कम्पनी दर्ता भइ उद्योग तथा व्यवसाय गरिरहेका छन् ।

सम्बन्धित समाचार