काठमाडौं । सरकारलाई संसदको सार्वजनिक लेखा समितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीमाथि छानबिन गरी निलम्बन गर्न पत्र पठाएको छ । लेखा समितिले आफ्नो निर्णयको व्यवहोरासमेत समावेश गरी कार्यान्वयन गर्न पत्र पठाएको हो ।
लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले कर छुटलगायत सबै अनियमिततामा संलग्नलाई हदैसम्मको कानूनी कारबाही गर्नुपर्ने औल्याउँदै पदमा बहाल भएकालाई तत्काल निलम्बन गर्नुपर्ने उल्लेख गरेका थिए।
विमानस्थल निर्माणको नीतिगत निर्णय र अनियमिततामा जोडिकालाई कारवाहीको सिफारिस गरेको उपसमितिले नागरिक उड्डउन प्राधिकरणका पदाधिकारीको हकमा नामसमेत उल्लेख गरेको छ । उपसमितिले प्राधिकरणका महानिर्देशक अधिकारीको नाम किटेर निलम्बन गर्न सिफारिस गरेको छ ।
हालका महानिर्देशक अधिकारी २०७१ सालदेखि २०७४ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख थिए । २०७८ देखि उनी नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकका रुपमा कार्यरत छन् ।
लेखा उपसमितिले पोखरा विमानस्थल आयोजनाको प्रमुख विनेश मुनाकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, इञ्जिनियर प्रविन न्यौपाने, राष्ट्रिय गौरव आयोजनाका प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, प्राधिकरणका निर्देशक इञ्जिनियर बाबुराम पौडेल पदमा बहाल कर्मचारी रहेको उल्लेख गरेको थियो ।
बहालवाला कर्मचारीलाई सम्पत्ति शुद्धीकरण विभागले निलम्बन गर्ने अभ्यास नभएकाले लेखा समितिले सरकारलाई निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको थियो ।