काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को चरित्र हत्या गरेको भन्दै प्रहरीले महानगरपालिकाका एक कर्मचारीलाई पक्राउ गरेको छ । महानगरपालिका अन्तर्गत स्वास्थ्य विभागमा काम गर्ने रामप्रसाद पौडेललाई प्रहरीको साइबर ब्युरोले बिहीबार पक्राउ गरेको हो ।
यसअघि मेयर बालेनले पौडेललाई पुष २६ गते निलम्बन गरेका थिए । सोहि आवेगमा पौडेलले मेयर बालेन विरूद्ध सामाजिक संजालमा स्टाटस लेखेका थिए । उनले लेखेका थिए, ‘मेयर बालेनले नियुक्त गरेका १६६ जना र निजहरूले २ वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ यो नगरवासीले तिरेको कर हो, उनको नियत नै रहेछ, उटपट्याङ गरी रहौँ, आखिर म त लोकप्रिय हुन्छु ? अरू ३ करोड नेपालीलाई सामाजिक सञ्जालबाट मूर्ख बनाउँछु’ ।
जसपश्चात सम्मित पोखरेलले मेयर बालेनको चरित्र हत्या गरेको आरोपमा पौडेलविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएका थिए । मेयर बालेनको नैतिक शिष्टाचारविरुद्धको सामग्री वा घृणा फैलाउने खालको सामग्री पटक पटक सम्प्रेषण गरेको भन्दै पोखरेलले जाहेरी दिएका हुन् । सोहि जाहेरीको आधारमा पौडेल पक्राउ परेका हुन् । हाल जिल्ला अदालतमा पौडेलविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दा दायर गरिएको छ ।