काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा आंशिकदेखि साधरणतया बदली रही देशका पहाडी भागमा आंशिक बदली र बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थान र बाँकी पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थान र बाँकी पहाडी भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।