ज्वालामूखी गाउँपालिकामा कृषि अनुदान दूरुपयोग, अख्तियारमा उजूरी दर्ता, फार्म हाउसका संचालक अनुदान रकम बुझेर गए विदेश

0 Shares

धादिङ । धादिङको ज्वालामूखी गाउँपालिकामा कृषि अनुदान दूरुपयोग भएको भन्दै अख्तियारमा उजूरी दर्ता भएको छ ।

कृषि अनुदान रकम दुरुपयोग गर्नेमाथि आवश्यक कारबाही गर्न माग गर्दै उजुरी परेको अख्तियार स्रोतले जनाएको छ ।

उजूरीमा नेपाली कांग्रेस ज्वालामूखी गाउँपालिका पार्टी सभापति रेशमलाल काप्रीको त्रिपुर सुन्दरी पशुपक्षी तथा फलफूल फर्म, नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका केन्द्रीय वरीष्ठ उपाध्यक्ष नवराज छत्कुलीले संचालन गरेको भनिएको साकार पोल्र्टी फर्म, मिश्री पशुपक्षी तथा फलफूल फर्म र जौवारी फार्म हाउस प्रालिमाथि आवश्यक अनुसन्धान गरेर दोषी देखिए कारबाही गर्न आग्रह गरिएको छ ।

यी ४ वटा फर्महरुमध्ये जौवारी फार्म हाउस प्रालिबाहेक बाँकी ३ वटा फार्मले बुझेको अनुदान रकमलाई महालेखाको प्रतिवेदनमासमेत अनियमित रकमको रुपमा देख्न सकिन्छ । अनुदान रकम बुझेको जौवारी फार्म हाउस प्रालिले कृषि कर्म नै नगरेको भेटिएको छ । यो फार्म हाउसका संचालक अनुदान रकम बुझेर विदेश गएको त्यहाँका स्थानीयहरु बताउँछन् ।

किसानको नाममा सत्ता र सक्तिको दुरुपयोग गरेर अनुदान रकम बुझेको भन्दै अहिले ज्वालामूखीमा चर्को विरोध भइरहेको छ । अनुदान वितरणका क्रममा अनुगमनको जिम्मेवारीमा रहने गाउँपालिकाका उपाध्यक्ष धर्म अर्यालको राजनीतिक दल नेकपा एकीकृत समाजवादीलेसमेत कृषि अनुदानमा भएको भनिएको अनियमिततामाथि आवश्यक छानविन हुनुपर्ने भनेको छ ।

आवश्यक अनुसन्धानका लागि ज्वालामूखी गाउँपालिकामा जाने तयारी भएको र त्यसको प्रक्रिया सुरु भएको अख्तियार स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार