काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
जन्ती गएका दुवै जनालाई ट्याक्टरले ठक्कर दिँदा महिलाको घटनास्थलमा मृत्यु भएको हो । अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका ४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगर २० का २३ वर्षीय योजन राई रहेका छन् ।
हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको बस उदयपुरको चौनपा ४ बर्खेडाँडाको सडकमा रोकिएको थियो । जन्ती होटलमा नास्ता खाएर फर्किने क्रममा पछाडिबाट आइरहेको ना३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय प्रमुख बबिन राईले जानकारी दिए ।
हाल ट्याक्टर चालक उदयपुरको चौनपा ४ बस्ने ३० वर्षीया विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । घाइते राईलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ ।