सवा एक अर्ब राजश्व चुहावट गरेको अभियोगमा मुद्दा दायर

0 Shares

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट कसुरमा ध्रुव कन्स्ट्रक्सन सञ्चालक ध्रुव देवविरुद्ध एक अर्ब २० करोडको मुद्दा दायर गरेको छ ।

उच्च अदालत पाटनमा सोमबार उनीसँग एक अर्ब २० करोड ९२ लाखभन्दा बढी रकम असुलउपर गर्न तथा कैद सजाय दाबी गर्दै अभियोग पत्र दायर गरिएको विभागको सूचनामा उल्लेख छ ।

काठमाडौं महानगर ३१ नयाँ बानेश्वरस्थित ठेक्कापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने ध्रुव कन्स्ट्रक्सन सञ्चालक देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको, बिजक सिलसिलेबार जारी नगरेको, मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुटा विवरण पेस गरेको विभागको सूचनामा भनिएको छ ।

यस्तै, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरेकाले अदालतमा मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी तथा अनुसन्धान अधिकृत नवराज अधिकारीले बताए ।

सम्बन्धित समाचार