काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका केही विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।
बिहान ‘इन रुट वेदर’का कारण अन्तर्राष्ट्रियतर्फ जजिर एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको माउन्टेन फ्लाइटको विमान डाइभर्ट भएको उनले जानकारी दिइन् ।
रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाडौं विमानस्थलसहित काठमाडौं बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले जानकारी दिइन्
दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौं-थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो ।
अहिले काठमाडौं आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’मा उल्लेख छ ।