जहाँ रोकेको गाडी सडक भासिएर हराए, त्यहीँ ठाउँमा हल गोरु पनि भासिएर हराएका थिए

0 Shares

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा गुडिरहेको बोलेरो पिकअप भ्यान शुक्रबार दिउँसो भासिएर जमिनमुनि हरायो । शुक्रबार र शनिबार दुई दिनसम्म खोज्दा पनि गाडी भेटिएन । आइतबार सशस्त्र प्रहरीको टोलीलाई बोलाएर गाडी खोज्ने काम भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ जोडिएको गैरीगाउँको भित्री कच्ची सडकमा शुक्रबार दिउँसो घाँस काट्ने मेसिन बोकेको स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको सिंगल क्याब पिकअप गाडी भासिएको हो ।

गाडी धसिँदै जान थालेपछि सहचालक र चालकले गाडीलाई पछाडिबाट डोरीले बाँधेर तान्ने प्रयास गरे । तर सकेनन् । एउटा भिडियोमा उनीहरुले टेलिफोन गरेर गाडी धसिएको जानकारी कसैलाई गराउँछन् । अर्कोतर्फबाट बोल्ने व्यक्तिले ट्याक्टर लगाएर तान्न सुझाव दिन्छन् । तर उनले गाडी पुरै जमिनमुनि डुबिसेकेकाले ट्याक्टर लगाएर तान्न सम्भव नहुने बताउँछन् ।

गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ ।

त्यही ठाउँमा गोरु पनि भासिएर हराएका थिए

स्थानीयका अनुसार अहिले बाटो बनेको र दायाँबायाँ पोखरी बनेको ठाउँ पहिले दलदल थियो । त्यो दलदलमा स्थानीयका हल गोरु हराउने घटना पनि भएका थिए ।

जमिन भासिएको ठाउँ पर्ने हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला भन्छन्, ‘अहिले ठ्याक्कै मिति थाहा छैन र तर हामी सानै छँदा ७–८ हल गोरु धसिएको भनेर बुढापाकाहरुले भन्छन् । म अलि ठूलो भएपछि पनि एक हल गोरु धसिएर जमिन मुनि नै हराएको सम्झना छ ।’

उनका अनुसार केही वर्षयता भने जमिन सुक्खा भएर साह्रो भएको थियो । त्यसैले त्यहाँ बाटो पनि बनाइयो । ‘अहिले दलदल छैन, सुकेर जमिन साह्रो छ । त्यही भएर मेरो पहिलो कार्यकालमा त्यहाँ ६–७ वर्ष अगाडि बाटो बनाइएको हो,’ वडाध्यक्ष कोइरालाले भने, ‘अहिले त्यही बाटोमा गाडी धसिएर जमिन मुनि हरायो ।’ गाडी खोज्नका लागि आज सशस्त्र प्रहरीलाई पनि बोलाइएको उनले जानकारी दिए ।

 

सम्बन्धित समाचार