नागढुंगा-नौबिसे सडक राति बन्द हुने, कहाँ रोकिन्छन् सवारी साधन?

0 Shares

काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा-नौबिसे खण्ड वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।

नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारी साधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उल्लेख गरिएको छ ।

काठमाडौंबाट जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारी साधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

उपरोक्त स्थानमा रोकिएका सबै सवारी साधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ ।

सम्बन्धित समाचार