प्रकृति लम्सालपछि भारतको किट विश्वविद्यालयमा अर्की नेपाली छात्रा मृत भेटिइन्

0 Shares

काठमाडौँ । भारतको भुवनेश्वरस्थ्जित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोली (केआईआईटी) विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थीको शव फेला परेको छ ।

प्रकृति लम्सालको रहस्यमय मृत्युको दुई महिनापछि, बिहीबार अर्की छात्रा होस्टेलको कोठामा मृत फेला परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको विद्यार्थीहरुले जनाएका छन् ।

बिटेकमा अध्यनरत छात्रा साँझ होस्टेल कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सो घटनाको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको बताइएको छ । १८ वर्षीया छात्रा कम्प्युटर विज्ञानमा बीटेक गर्दै पहिलो वर्षमा अध्ययनरत थिइन् ।
प्रहरीले यस बारेमा नेपाली दूतावासलाई पहिले नै जानकारी गराएको र सम्भव भएसम्म सबै विवरणहरू दिएको बताएको छ । दिल्लीस्थित दुताबासका प्रतिनिधि आज पुग्न लागेको पनि प्रहरीले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अहिले सो क्षेत्रलाई बन्द गरेर कसैलाई पनि होस्टेल क्याम्पस भित्र प्रवेश गर्न नदिइएको बताइएको छ । अनुसन्धान भइरहेकोले यो आत्महत्या हो वा हत्या भन्ने कुरा अझै निश्चित नभएको प्रहरीले जनाएको छ । प्रहरीले होस्टेलका कर्मचारी र होस्टेलमा उपस्थित अन्य विद्यार्थीहरूसँग सोधपुछ गरिरहेको छ । साथै छात्राका आमाबाबुलाई पनि घटनाको बारेमा जानकारी गराइएको छ । त्यसैगरी प्रहरीले चौकीमा अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरिएको बताएको छ ।

यसअघि गत फागुनमा नेपालकी छात्रा प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएपछि विवाद र तनाव सिर्जना भएको थियो । विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालिएको थियो ।

त्यसको चौतर्फी आलोचना र विरोध भएपछि विश्वविद्यालयले माफी मागेर नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन आह्वान गरेको थियो । प्रकृति लम्सालको मृत्युको घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । ओडिसा राज्य सरकारले समेतत उच्चस्तरीय समिति बनाएर घटनाको छानबिन गरेको थियो ।

सम्बन्धित समाचार