काठमाडौं । बाँके नेपालगञ्ज २१ मा घाँटी रेटेर एक युवकको हत्या भएको २४ घण्टा बित्न नपाउँदै सोही जिल्लाको खजुरा गाउँपालिकामा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार दिउँसो घरमा कोही नभएको अवस्थामा श्रीमान् श्रीमती मात्रै रहेको बेला घटना भएको पाइएको छ ।
प्रहरीका अनुसार खजुरा ३ बि गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान् महेन्द्र रावत उनकी श्रीमती गीतासिंह ठकुरी घाँटी रेटेर अवस्थामा भेटिएका हुन् । गम्भीर अवस्थामा रहेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराको टोलीले भेरी अस्पतालमा पुर्याएको थियो ।
उनीहरूको अवस्था गम्भीर रहेकाले भेरी अस्पतालले दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरेको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटना रहस्यमय रहेको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।