छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

0 Shares

काठमाडौं । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पर्साको सकुहवा प्रसौनी गाउँपालिका २ बस्ने अन्दाजी २५ वर्षीय लालबाबु पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगर ४ सापकोटा चोक नजिक बाप्र ०६-००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पासवानलाई ठक्कर दिएको थियो ।

आज बिहान कारको ठक्करबाट घाइते पासवानको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, रत्ननगर नगरपालिका ६ दाराहात्ती चोकमा जंगल सफारी गरिरहेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ना ४ च ३३५५ नम्बरको जीप आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा जीपमा सवार तीन जना घाइते भएका हुन् । खनालका अनुसार जीपमा सवार अन्य सात जना सकुशल रहेका छन् ।

घाइते तीनै जनाको अजस्था खतरामुक्त रहेको उनले बताए । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार