नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या २१८ पुग्यो

0 Shares

काठमाडौं । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको संख्या २१८ पुगेको छ।

प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मंगलबार मध्यरातमा छत भत्किँदा परेजका प्रबन्धकसमेतको मृत्यु भएको थियो। यसअघि बुधबार दिइएको जानकारीमा करिब एक सय जनाको मृत्यु भएको जनाइएको थियो।

उक्त घटनापछि कार्यक्रमस्थलमा फसेका कम्तीमा दुई सय जनाको उद्धार गरिएको थियो भने दर्जनौँ मानिस घटनापछि आँफै सुरक्षित स्थलमा भाग्न सफल भएका थिए। स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए।

मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ। उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए।

पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताएकी थिइन्। राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरेको थियो भने तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका थिए।

सम्बन्धित समाचार