काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको हो ।
महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा भएको हो ।
यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार केही समय रोकिए पनि बिहीबार दिनभर र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको जानकारी छ ।
बुधबारसमेत काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा भएको थियो । यो वर्ष सात महिनापछि उपत्यकामा वर्षा भएको हो । महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
कोशी, मधेस प्रदेशलगायत देशको पहाडी भागका केही स्थानमा तथा देशका बाँकी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हावाहुरी र वर्षा भएसँगै काठमाडौं उपत्यकाको प्रदूषण ह्वात्तै घटेको छ ।