काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ।
दुवैले दायर गरेको रिट निवेदन शुक्रबार न्यायाधीश मुसलमानको एकल इजलासमा सुनुवाइ हुन लागेको हो। घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ क्रममा छ । गत सोमबार मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई बर्खास्त गरी हितेन्द्रदेवलाई नियुक्त गरेको थियो। घिसिङले आफूलाई सरकारले गैरकानुनी रूपमा बर्खास्त गरेको भन्दै बिहीबार रिट दायर गरेका थिए।
सोही दिन शाक्य पनि सर्वोच्च पुगेका थिए। २०७७ मा तत्कालीन ओली सरकारको पालामा शाक्य कार्यकारी निर्देशक नियुक्त हुँदा उनलाई हटाएर २०७८ मा कुलमानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो । त्यसपछि शाक्य सर्वोच्च पुगेका थिए । तर, ४ वर्ष बितिसक्दा पनि सो रिटको टुंगो लागेको छैन । सोही मुद्दा टुंग्याउन शाक्य अदालत पुगेका हुन् ।