श्रीमानको बचन पूरा गर्न अस्तु बोकेर नेपाल आइपुगेकी लोरेटा

0 Shares

काठमाडौं । अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन् । उति नै उनका आँखामा पीडा र अनुहारमा निराशा छचल्किएका थिए ।

सराङकोटको डाँडामा उभिँदा उनका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थिए । केही वर्षअघि उनले श्रीमान फिल हुलवर्कको हात समाउँदै यही सिँढीहरू उक्लिएको थिइन् ।

सँगै खिचिएका तस्बिर, सूर्योदयको सुनौलो रङ, नीलो आकाशको शान्ति, कुहिरोले बनाएका अनौठा आकृति, हरियाली डाँडा, चराचुरुङ्गीका चिरबिर सबै त्यही थिए । थिएन त केवल एउटा साथ, एउटा स्पर्श, एउटा हात, जसले उनलाई जीवनभर समातेर राख्ने वाचा गरेका थिए ।

अब तस्बिर केवल याद बनेका थिए । सूर्योदयको उज्यालोभन्दा मनको अँध्यारो गहिरो थियो । सिँढी उक्लिने पाइला साहाराविहीन भएका थिए ।

नेपाललाई दोस्रो घर सम्झने ७६ वर्षीय अमेरिकी नागरिक फिलको नेपालप्रतिको अपार माया । त्यसैले लोरेटालाई फिलको अस्तु बोकेर नेपाल ल्याउने महसुस गराइदियो ।

अमेरिकाको डेल्टा एयरलाइन्समा कार्यरत फिल पहिलो पटक सन् २००७ मा नेपाल आइपुगेका थिए । थाइल्याण्ड भ्रमणका क्रममा एक जना साथीले नेपालको प्राकृतिक सुन्दरताबारे सुनाएपछि उनको गन्तव्य नेपाल बनेको थियो ।

प्रकृतिसँग रमाउन मन पराउने फिल नेपालका विभिन्न स्थानमा पुगेर प्राकृतिक सौन्दर्यसँगै यहाँको जीवनशैली र संस्कृतिमा घुलमिल भए । जहाँ गए पनि, जहाँ पुगे पनि, उनलाई पोखराको सुन्दरताले सबैभन्दा बढी तान्यो ।

पोखराको शान्त वातावरण र फेवातालको किनारले उनलाई सान्त्वना र आनन्द प्रदान गरेको थियो । एयरलाइन्सबाट सेवा निवृत्त भएपछि त उनले आफ्नो अधिकांश समय नेपालमै बिताइदिए ।

सन् २०१९ मा नेपाल बसाइँका क्रममा फिल नसा च्यापिएपछि विरामी परे । लेकसाइड गौरीघाटस्थित होटल ‘रानीवन आर्केट’मा बस्दै आएका फिललाई होटल सञ्चालक तथा पर्यटन व्यवसायी हरि भुजेलले उपचारमा विशेष ध्यान दिए । तर, समस्या निको भएन ।

यसको एक महिनापछि लोरेटा नेपाल आएकी थिइन् । उनलाई आफ्नै देश लगेपछि उपचार गरिन् । विडम्बना एउटा समस्या समाधान नहुँदै उनलाई ‘ब्रेन ट्युमर’ भएको पत्ता लाग्यो ।

अन्ततः उपचारकै क्रममा छ महिनाअघि फिलले यो संसारबाट सदाका लागि बिदा लिए । बिरामी अवस्थामा नेपाललाई सम्झिरहेका फिलको आत्माको शान्तिका लागि उनकी पत्नी लोरेटा श्रीमानको अस्तु लिएर नेपाल आइपुगेकी हुन् ।

श्रीमानको अस्तु लिएर सराङकोट डाँडामा पुगेकी लोरेटासँग पर्यटन व्यवसायी भुजेल, पोखराकै अर्का साथी विनय पौडेल र लोरेटाकी साथी सेरी पनि थिए ।

लोरेटाले स्व. श्रीमानको तस्बिरलाई स्पर्श गर्दै पुष्पगुच्छा अर्पण गरिन् । मुस्कुराइ रहेको श्रीमानको तस्बिर एक टकले हेरिरहेकी लोरेटाका आँखा आँसुले भरिए ।

मौनताबीचका अनगिन्ती भावनासँगै उनले श्रीमानको अस्तु सराङकोटको डाँडामा विर्सजन गरिन् । फिलसँगको सम्झनालाई उनले नेपालकै माटोसँग मिलाइन् ।

फिलले आफ्नै जीवनकालमा नेपाललाई माया गर्दै बारम्बार आफ्नो अस्तु नेपालमा लैजान लोरेटालाई अनुरोध गरेका थिए ।

“फिल नेपालका प्रकृति र संस्कृतिमा रमाउने असाध्यै सरल र मिजासिलो व्यक्ति हुनुहुन्थ्यो”, होटल सञ्चालक भुजेलले भने, “हामीले धेरै पटक हाम्रो घरको भान्सामा सँगै नेपाली खाना खाएका छौँ, होली पर्व मनाएका छौँ, मठमन्दिर देवालय पुगेका छौँ, थुप्रैथुप्रै सम्झना छन् फिलसँग ।”

फिलको अन्तिम इच्छालाई लोरेटाले पूरा गरेर नेपालसँगको सम्बन्धलाई अझ गाढा बनाएको भुजेलले बताए ।

फिल नेपालीको आतिथ्यतासँगै जीवनशैलीको खुलेर प्रशंसा गर्दै आएका थिए । विशेष गरी, पोखराका स्थानीय क्षेत्रमा गएर लोकल रक्सी स्वाद मानेर पिउने उनको बानी थियो ।

डेल्टा एयरलाइन्समै कार्यरत लोरेटा हरेक वर्ष एक महिनाको बिदा मिलाएर श्रीमानसँग पोखरा घुम्न आउने गर्दथिन् । अहिले पनि, लोरेटाको नेपालप्रतिको निरन्तर आगमनले फिलको सम्झनालाई अमर बनाइरहेको छ ।

एउटै एयरलाइन्समा कार्यरत हुँदा सुरु भएको प्रेमलाई यो जोडीले विवाहमा परिणत गरेका थिए । जीवनको उत्तराद्र्धतिर आउँदा पनि फिलसँग बिताएका प्रत्येक क्षण लोरेटाका लागि अविस्मरणीय तथा प्रेमले भरिपूर्ण रह्यो ।

“मैले सन्तान जन्माउने चाहना गरिनँ, तर अहिले कताकता एक्लोपन महसुस गर्छु”, लोरेटाले हल्का उदासीका साथ भनिन्, “मेरो साथमा फिल छैन, तर उसँगका बिताएका हरेक पल र उसले टेकेको माटो मलाई उत्तिकै प्रिय छ ।”

अन्तमा लोरेटाले भनिन्, “फिल भौतिक रूपमा हाम्रो साथमा छैनन्, तर उनको आत्मा सधैँ नेपालमै रहने छ ।”

सम्बन्धित समाचार