कुलमानलाई हटाएपछि कांग्रेस महामन्त्रीहरू आक्रोशित, सरकार उल्टो बाटो हिँडेको आरोप

0 Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा असन्तुष्ट बनेका छन् । उनले सरकारले असन्तुष्टिको आगोमा मट्टीतेल हाल्ने काम गरेको बताए ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएपछि सरकार सञ्चालन गर्न सहयोग गर्ने संयन्त्रका सदस्यसमेत रहेका थापाले कडा प्रतिक्रिया दिएका हुन् ।

उनले आम नागरिकमा बढ्दो असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको समेत आरोप लगाए ।

‘यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाहिँ आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?,‘ उनले प्रश्न गरे ।

‘मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नुपर्ने हो। तर, विडम्बना त्यो भएन, निर्णय गलत छ, सरकार उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन,’ महामन्त्री थापाले भने ।

यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको यो निर्णयको विरोध गरेका थिए । उनले कुलमानलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताए ।

महामन्त्री शर्माले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रुपमा सजग गराइएको बताएका छन् ।

‘कारबाही योग्य केही भए, पछि पनि गर्न मिल्थ्यो, केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो, सरकारको यो निर्णय समयोचित विल्कुलै भएन, यसप्रति खुला र प्रष्ट रूपमा विमति छ’, शर्माले भने ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका दुवै महामन्त्रीले कुलमानलाई पदबाट हटाएसँगै सरकारको चर्को आलोचना गरेका हुन् । सरकारले कुलमानको स्थानमा हितेन्द्र देव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी कुलमानको कार्यकालअघि पनि सोही पदमा थिए ।

यसबीचमा प्रचण्ड प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गर्न कुलमानलाई नियुक्त गरेका थिए । उनले कार्यभार सम्हालेपछि दैनिक १८ घण्टाको लोडसेडिङ हुन छाडेको थियो ।

सम्बन्धित समाचार