आज पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने, सतर्क हुन आग्रह

0 Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका थोरै स्थानमा तथा बाँकी पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार