केबलकारको विवादले पाथीभरामा घट्यो भक्तजन, जम्मा १३ लाख भेटी संकलन

0 Shares

काठमाडौं । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा १३ लाख भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको संख्या सात हजार ४२८ रहेको समेत समितिले जनाएको छ । उक्त संख्या साविकको तुलनामा न्यून छ ।

गत वर्षको फागुनमा १७ हजार ९१२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । सोही अवधिमा ५५ लाख ७० हजार भेटी रकम जम्मा भएको थियो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पाथीभरा मन्दिरमा दर्शनार्थीको संख्या घट्नुको प्रमुख कारण हाल चर्चामा रहेको केबलकार निर्माणसम्बन्धी विवाद रहेको छ । केबलकारका सम्बन्धमा उत्पन्न विवादले बन्दलगायत कारण यो वर्ष संख्या घटेको उनले बताए ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाथीभरा मन्दिरमा विशेषगरी चैतेदसैँ, रामनवमी, बडादसैँ, तिहारलगायत चाडपर्वमा ठूलो संख्यामा भक्तजनको भीड लाग्ने गर्छ । स्वदेशी तथा विदेशी गरी वार्षिक तीन लाखको हाराहारीमा दर्शनार्थी आउने गरेको समितिले जनाएको छ ।

सम्बन्धित समाचार