काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् । आर्थिक व्यवहार बिग्रिएपछि एक महिलाले तनाव दिएर ‘बाँच्न नसक्ने अवस्था’मा पुर्याएको बताउँदै उनले आत्महत्याको प्रयास गरेका हुन् ।
चन्द्रागिरि नगरपालिका ७ घर भएका उत्तम कार्कीले गएराति १२ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । परिवारका सदस्य र स्थानीयले उनको उद्धार गरी अस्पताल लगिएको थियो ।
करिब ३५ वर्षीय कार्कीको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । उनले फेसबुक लाइभमा भनेका छन्, ‘मलाई पटक-पटक दबाब दिइएको छ, मेरो कुरा कुनै पनि निकायले सुनेनन् ।’
उनले आफूलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएको बताएका छन् । ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ,’ उनले भने ।