चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने काम सुरू भएको छ । विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार घाँसे मैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने गरिन्छ । निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित डढेलो लगाउने गर्दछन् ।
उनले भने, ‘घाँसे मैदानमा भएका जलनशील पदार्थमा नियन्त्रित रूपमा डढेलो लगाउँदा सहज हुने र पछि अनियन्त्रित डढेलोको समस्या हुँदैन ।’
निकुञ्जमा रहेको १० हजार हेक्टर क्षेत्रफल घाँसे मैदानमध्ये अहिले तीन सय हेक्टर क्षेत्रफल घाँसे मैदान व्यवस्थापन गरिएको छ । बजेट अभावले सबै क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न नसकिएको उनले बताए । नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने घाँस डढ्ने गर्दछ ।
घाँसे मैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने हुँदा जनावरलाई चरनका लागि सहज हुने उनले बताए । थापाका अनुसार नियन्त्रित डढेलोले जनावरमा क्षति हुँदैन । उनले भने, ‘अनियन्त्रित डढेलोका कारण क्षति पुग्छ, नियन्त्रित डढेलो लगाउँदा वन्यजन्तुमा क्षति हुन पाउँदैन ।’
नियन्त्रित डढेलो लगाउँदा पर्यापर्यटनका गतिविधिमा समेत असर नपर्ने उनको भनाइ छ । उनले डढेलो पछि उम्रने कलिला घाँसका कारण वन्यजन्तु बस्ती पस्न रोकिने बताए । चर्को गर्मीसँगै डढेलो फैलने भएकाले यो मौसममा नियन्त्रित डढेलो लगाउने गरिन्छ ।
यस निकुञ्जमा दुलर्भ वन्यजन्तु गैँडा, बाघ, हात्ती, चित्तललगायतका वन्यजन्तु रहेका छन् । विश्वभरबाट पर्यटक जंगल सफारीका लागि आउने गर्दछन् । नियन्त्रित डढेलोले निकुञ्जभित्रको बाटोबाट टाढा-टाढासम्म वन्यजन्तु देख्न सकिन्छ ।
डढेलो पछिको मौसममा पर्यटकले सहजै वन्यजन्तु देखिने भएकाले सफारीका लागि रूचाउने गर्दछन् । अनियन्त्रित रूपमा हुने डढेलो निकुञ्जले नियन्त्रण गर्ने गर्दछ । निकुञ्जमा हुने सीमित स्रोत साधनका कारण सोचे जति नियन्त्रण गर्न कठिन हुने मगरले बताए ।
चर्को गर्मीसँगै निकुञ्जभित्र अनियन्त्रित डढेलो लाग्ने गर्दछ । यसले वन र वन्यजन्तुलाई क्षति पुर्याउने गर्दछ । क्षति कम गर्नका लागि नियन्त्रित डढेलो लगाइने गरिन्छ ।