काठमाडौं । काठमाडौंको साँखुमा आज बिहान टिपर घरभित्र पस्दा तीन जनाको मृत्यु भएको छ ।
बिहान करिब ३ः४० बजे शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारस्थित साँखु-ब्रह्मखेल सडकखण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहराभित्र परेको थियो ।
टहरोमा ६१ जना बस्दै आएका थिए । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए । उनीहरूको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको हो ।
टिपर चालक सिन्धुपाल्चोकको मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।