जब हिमपातसँगै हल्का वर्षा भयो…

0 Shares

काठमाडौं । जुम्लामा हिमपात र हल्का वर्षा हुँदा किसान खुसी भएका छन् । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलो गरी हिउँ परेको हो ।

उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका १ का स्थानीयबासी मुनबहादुर एडीले जानकारी दिए ।

ढिलो गरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका छन् । जिल्लामा यस वर्षको हिउँदेयामको पहिलो हिमपात हो ।

गएको असोज महिनादेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । लामो समयपछि हिमपात भएपछि सुक्दै गएका हिउँदे बालीनालीलाई सहज भएको किसान बताउँछन् ।

जिल्लाका आठवटै स्थानीय तहका धेरैजसो ठाउँमा सिँचाइ नहुने पाखो जमिन छ । जहाँ कृषकले आकासे वर्षादका भरले जौ गहुँ बाली लगाउने गर्दछन् । वर्षा नहुँदा कतिपय पाखोमा रहेको जमीन बाँझो रहेको छ ।

अब हिउँसँगै पानीसमेत परेको छ । हिउँदे समयमा लगाएको, जौ गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका ६ का स्थानीय किसान दुर्गा शाहीले बताइन् ।

जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दिपक सिंह धामीको भनाइ छ ।

जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दुरीका सवारी साधन फाट्टफुट्ट चलेको तिला कर्णाली यतायातले जनाएको छ ।

सम्बन्धित समाचार