काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ ।
परीक्षामा सहभागी हुन देशभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरी सहभागी छन् । सबैभन्दा बढी परीक्षार्थी काठमाडौंका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको पनि बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले बताए ।
तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको छ । परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४४१ वटा निर्धारण गरिएको छ । नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ ।