३० मेगावाटको मध्य घुन्साखोला जलविद्युत आयोजनाको ‘ग्रिड कनेक्सन’ सम्झौता

0 Shares

काठमाडौं । ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्साखोला जलविद्युत् आयोजनाको ग्रिड कनेक्सन सम्झौता भएको छ ।

आयोजना प्रवर्द्धक एटलस इनर्जी र नेपाल विद्युत् प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्यले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार मध्य घुन्साखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको निर्माणाधीन २२०÷१३२ केभी हाङपाङ सब–स्टेसनमा जोडिने कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले जानकारी दिए ।

त्यसका लागि आयोजनाले साढे ६ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाइन निर्माण गर्ने छ । त्यसमा १३२÷२२० केभीएको ट्रान्सफर्मर जडान गरी प्राधिकरणको प्रणालीमा २२० केभीमा विद्युत प्रवाह गर्ने
छ ।

ताप्लेजुङको फत्तालुङ गाउँपालिकामा निर्माण हुने आयोजना सन् २०२६ मा सुरु भई सन् २०२९ मा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख उज्वल श्रेष्ठले जानकारी दिए ।

ग्रसहेड १५८ मिटर रहेको आयोजनाको डिजाइन डिस्चार्ज २२.६ रहेको छ । ३ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने आयोजनाको १७५० मिटर टनेल र २५० मिटर पेनस्टक पाइप रहने छ ।

आयोजनाको विद्युत् गृह अर्धभूमिगत रहने छ भने त्यहाँ १५.१२ मेगावाट क्षमताका २ वटा टर्बाइन रहने छन् । आयोजनाले वार्षिक रुपमा १७५ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ ।

सम्बन्धित समाचार