काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको गाडी दुर्घटना भएको छ । बिहीबार बिहान ३ ४ बजेतिर उनीहरू सवार बा-१-०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।
कार प्रदेश ३-०१-००३- प ६२९८ नम्बरको टिपरसँग ठोकिएको बताइएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
दुर्घटनालगतै ६ जनालाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । जसमध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भएका छन् । सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ ।
सामान्य उपचारपछि डिस्चार्ज भएका विशाल भण्डारी र पूजन अधिकारीलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको पक्राउ गरेको छ । दुवैले कार आफैँले चलाएको भनेर दाबी गरेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।