काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ ।
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका २८ सामूदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए ।
कक्षा ६ को स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको प्रश्नपत्र कक्षा ४ को रहेको थियो । बिहान कक्षा ४ को परीक्षा भएको र सोही प्रश्नपत्र कक्षा ६ मा पनि दोहोरिएको विद्यार्थीको भनाइ छ ।
परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेपछि विषय सूचीभन्दा बाहिरको भएपछि प्रश्नपत्र फिर्ता गरिएको विद्यार्थीको भनाइ छ । रद्द भएको परीक्षा यही चैत १० गते शनिबार हुने नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले बताए ।
उनले कक्षा ५ र ८ को परीक्षा नगरपालिकाले सञ्चालन गरे पनि अन्य कक्षाको परीक्षा समितिले गरेको बताए । उनले भने, ‘प्रश्नपत्र त्रुटि भएको विषयमा समितिलाई राय पेस गर्न भनेका छौँ ।’