८ महिनामा साढे २ अर्बको सिमेन्ट निर्यात

0 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिना (साउनदेखि फागुन) सम्म नेपालबाट साढे २ अर्ब रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म नेपालले २ अर्ब ४७ करोड १७ लाख रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात गरेको छ ।

८ महिनामा मुलुकको समग्र निर्यात झन्डै ४ प्रतिशतले घटेको बेला पनि सिमेन्ट र आइरनको निर्यात भने हरेक महिना बढिरहेको छ । मुलुकबाट हुने समग्र निर्यातमा सिमेन्ट र क्लिंकर (अर्धतयारी सिमेन्ट) को योगदान २.४६ प्रतिशत रहेको छ। सरकारले बजेटमार्फत निर्यातमा ८ प्रतिशतसम्म निर्यात अनुदान दिने घोषणा गरेपछि सिमेन्ट निर्यातमा वृद्धि हुँदै आएको हो ।

गत आर्थिक वर्षभरिमा ७७ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएकोमा चालु आवको ८ महिनामै ३ गुणाभन्दा बढी सिमेन्ट निर्यात भइसकेको छ । गत वर्ष यो अवधिमा आठ करोड ७२ लाख रूपैयाँको निर्यात भएको थियो। नेपालबाट सिमेन्ट तथा क्लिंकर भारत निर्यात भइरहेको छ भने भन्सार विभागको फागुन महिनाको तथ्यांकमा अफ्रिकी राष्ट्र नामिबियामा समेत १ सय ५५ टन सिमेन्ट निर्यात भएको देखाएको छ यद्यपि नामिबियामा साढे १० लाख रुपैयाँ बराबरको मात्रै सिमेन्ट निर्यात भएको तथ्यांकले देखाएको छ । ‘नामिबिया नेपालबाट धेरै टाढाको देश भएकाले व्यापरिक प्रयोजनको लागि सम्भव छैन ।

कुनै टेस्टिङ प्रयोजनको लागि केही कन्टेनर गएको हुन सक्छ ।’–सर्वोत्तम सिमेन्ट महाप्रबन्धक विष्णुप्रसाद न्यौपानेले भने । निर्यातको ग्राफ हेर्दा हरेक महिना सिमेन्ट निर्यातको ग्राफ भने बढिरहेको छ । फागुन महिनामा मात्रै नेपालले ४१ करोड ८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिकर निर्यात गरेको थियो । सर्वोत्तम सिमेन्टले नै भारतमा यो आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात पुग्ने अनुमान गरे पनि पछिल्लो उद्योगहरुमा दैनिक १०–१२ घण्टाको लोडसेडिङले निर्यात कम भएको महाप्रबन्धक न्यौपानेले बताए ।

‘भारतमा ठूलो मात्रामा निर्माणको काम भइरहेको हुनाले सिमेन्टको ठूलो माग भए पनि उद्योगहरुमा विद्युत लाइन काटिने लगायत समस्याका कारण सामान निर्यात सोचे जस्तो निर्यात भइरहेको छैन ।’–उनले भने । अहिलेको अवस्था हेर्दा ५ अर्ब रुपैयाँको सिमेन्ट निर्यात पुर्याउन पनि नसकिने अवस्था देखियो । ८ महिनामा सर्वोत्तम सिमेन्टले झन्डै ६० करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको छ ।

हाल नेपालबाट पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबली र श्रृष्टि ब्रान्डका नेपाली सिमेन्ट भारतीय बजारमा निर्यात गरीरहेका छन्। चालु वर्षको ८ महिनामा तयारी सिमेन्ट मात्रै १ अर्ब २८ करोड ३० लाख १४ हजार रुपैयाँ बराबरको १९ लाख ४ हजार २ सय २८ टन सिमेन्ट निर्यात भएको छ । त्यस्तै १ अर्ब १८ करोड ८७ लाख रूपैयाँको क्लिंकर समेत भारत निर्यात भएको हो।

तयारी सिमेन्टको व्यावसायिक निर्यात २०७९ साउनबाट पाल्पा सिमेन्टले सुरू गरेको थियो। पहिलो महिना जम्मा ४९ लाख रूपैयाँको निर्यात भएको थियो। क्लिंकर निर्यात भने सोही वर्ष फागुनबाट सुरू भएको हो। छोटो समयमा सिमेन्टको निर्यात वृद्धिदर उल्लेखनीय रूपमा बढेको छ। सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट–क्लिंकर निर्यात बढ्न थालेको हो।

सिमेन्टलाई चाहिने प्रमुख कच्चापदार्थ चुनढुंगा खानी नेपालमा प्रशस्त हुनु सिमेन्ट उद्योग फस्टाउनुको प्रमुख कारण हो। पहिले चुनढुंगा उत्खनन गर्न उद्योगहरूसँग लगानी र प्रविधि पर्याप्त थिएन। खानी उत्खननसम्बन्धी सरकारी नीति पनि कडा थियो। त्यसैले उद्योगीहरू भारतबाट क्लिंकर आयात गर्थे। खानी तथा भूगर्भ विभागले चुनढुंगा खानीको लाइसेन्स जारी गरेपछि क्लिंकर आयात कम हुँदै गएको हो।

सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई आठ प्रतिशतसम्म नगद अनुदान र १० करोड रूपैयाँभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था पनि गरेको छ ।

नेपाली उद्योगहरूले भारतीय बजारमा नेपाली सिमेन्टको माग बढाउन विज्ञापन समेत गर्न थालेका छन् । अहिले अर्घाखाँची, सर्वोत्तम र पाल्पा सिमेन्टले भारतीय बजारमा भित्ते पेन्टिङसमेत गरेको छ । अर्घाखाँची सिमेन्टले भित्ते विज्ञापनबाट भारतीय बजारमा विज्ञापनको शुरुवात गरेको हो ।

सिमेन्ट निर्यातको मासिक तथ्यांक
२०७९ साउन– ४९ लाख रूपैयाँ

भदौ – ४० लाख रूपैयाँ

असोज – एक करोड २६ लाख रूपैयाँ

कात्तिक – एक करोड ३५ लाख रूपैयाँ

मंसिर – ९१ लाख रूपैयाँ

पुस – चार करोड २० लाख रूपैयाँ

माघ – आठ करोड सात लाख रूपैयाँ

फागुन – १३ करोड ७६ लाख रूपैयाँ

चैत – ११ करोड ७६ लाख रूपैयाँ

२०८० वैशाख – १३ करोड १२ लाख रूपैयाँ

जेठ – १२ करोड ३२ लाख रूपैयाँ

असार – १० करोड २९ लाख रूपैयाँ

साउन – २३ करोड ५० लाख रूपैयाँ

भदौ – १८ करोड ३४ लाख रूपैयाँ

असोज – ४३ करोड ४५ लाख रूपैयाँ

कात्तिक – २७ करोड ७६ लाख रूपैयाँ

मंसिर – ३६ करोड १५ लाख रूपैयाँ

पुस – २७ करोड नौ लाख रूपैयाँ

माघ – २९ करोड ७५ लाख ४१ हजार रुपैयाँ

फागुन – ४१ करोड ८ लाख ९० हजार रुपैयाँ

सम्बन्धित समाचार