भ्रष्टाचारको आरोपमा पालिकाका पूर्वअध्यक्ष र प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा दायर

0 Shares

काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको छ। भ्रष्टाचारको मुद्दामा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

सडक तथा नाला निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर रहेको छ। अर्यालविरुद्ध ३५ लाख ३९ हजार ३३१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ। उनी नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए।

आयोगले तत्कालीन प्रशासकीय अधिकृत पुरन गुरुङ र कमलप्रसाद गौतम, इञ्जिनियरहरू नवीन थापा, सूर्यप्रसाद पौडेल, सुदीप आचार्यविरुद्ध मुद्दा दायर भएको छ। उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल र मंगलदेवी थापा मगर, सचिव कृष्णप्रसाद काफ्ले र विष्णुकुमारी विक, कोषाध्यक्षहरू हिमकुमारी केसी र एकनारायण देवकोटालाई प्रतिवादी बनाइएको छ।

उपभोक्ता समितिमार्फत गाउँपालिकाले नहर ढलानको काम गरेको थियो। आर्थिक वर्ष ०७५-७६ मा २७ लाख तथा ०७६-७७ मा आठ लाख भन्दा बढी रकम खर्च गरी काम गरे पनि केही महिनामा भत्किएको थियो। नहरको ढलान भत्केपछि अख्तियारले भ्रष्टाचारसम्बन्धी अनुसन्धान गरेको थियो।

सम्बन्धित समाचार