जनकपुरधाम । ४० वर्षीया एक महिलाको विभत्स हत्या गरेको आरोपमा ५० वर्षीय पुरुषलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्लाको विदेह नगरपालिका–५ मुडिबा टोलकी ४० वर्षीया रामपरीदेवी ठाकुरको हत्या आरोपमा स्थानीय ५० वर्षीय सगमलाल पासमानलाई पक्राउ गरी मंगलबार प्रहरीले सार्वजनिक गरेको हो।
गत मंसिर १९ गते दिउँसो करिब पौने १ बजेको समयमा शहिदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको खेतमा टाउको नभएको अवस्थामा ठाकुरको शव फेला परेको थियो। करिब २०५ फिट पश्चिम दक्षिण नहरको भित्तामा झाडीभित्र टाउको फेला परेको थियो।
प्रहरी उपरीक्षक तिवारीले मृतक र आरोपितबीच पहिलादेखि नै चिनजान रहेको र पटक–पटक दुवैजनाबीच फोन सम्पर्क हुने गरको बताए। उनले घटनाको दिनसमेत उनीहरुबीच फोन सम्पर्क भएको र ठाकुर घटनास्थलमा गएकोमा पछिपछि पासमानसमेत गएको स्थानीयले देखेको प्रहरी उपरीक्षक तिवारीले बताए।
उनले आरोपितको घरबाट रगत लागेको पाइन्ट, टिसर्ट, ज्याकेट बरामद गरेको बताए। उनले आरोपितको हातमा र कानमा काटिएको घाउसमेत रहेको आधारमा पासमानले नै महिलाको हत्या गरेको प्रष्ट रहेको बताए।
हत्यामा अरु कसैको संलग्नता रहे नरहेको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।