आमाले लगाएको सुनको रिङ लिन हत्या, पक्राउ परे कान्छा छोरा

0 Shares

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका ३ स्थित भञ्ज्याङगाउँमा सिलौटाको लोहोरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन् । कात्तिक १६ गते अपरान्ह चार बजेको समयमा ६९ वर्षीया माइली लामालाई उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङले हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

सिलौटाको लोरो प्रहार गरी आमाको हत्या गर्ने अभियुक्त लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै प्रहरी उपरीक्षक खड्काले माइली आफ्नै घरको भान्सा कोठामा मृत फेला परेकी जानकारी दिइन् ।

घटनाको खबर पाएसँगै प्रहरी चौकी खहरेपाँगु, इलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोेलीले प्रारम्भिक अनुसन्धान गरी मृतकको कान्छो छोरा वर्ष २८ को फुर्साङ लामालाई पक्राउ गरेको थियो ।

उनका अनुसार घटनाको अनुसन्धान गर्दा फुर्साङले भान्सा कोठामा सुतिरहेको आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने लोरोले टाउकोमा प्रहार गरेको बताएका थिए । फुर्साङले आमाको हत्या गरी आमाको कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद लिएर फरार भएका थिए ।

फरार रहेका फुर्साङलाई जिल्ला प्रहरी कार्यालयल काभ्रेले कात्तिक १८ गते पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताइन् । पक्राउ परेका उनलाई मंगलबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार