काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले कडाइका साथ जाँच सुरु गरेको छ ।
चाडपर्वको समयमा सवारी साधनले बढी भाडा लिने, चोरी डकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शंकास्पद स्थानमा जाँच सुरु गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारी साधन र शंकास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए ।
चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार धरान उपमहानगर क्षेत्रभित्र लागु औषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराध जन्य घटना घट्न नदिन इलाका प्रहरी कार्यालयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित जाँच सुरु गरिएको उनको भनाइ थियो ।
उपरीक्षक तिमल्सिनाले भने, ‘कुकुरको माध्ययमबाट सवारी जाँच गर्दा लागु औषध कारोबार गर्ने व्यक्ति, लागु औषध र शंकास्पद वस्तु बरामद गरिँदै आएकाले धरान सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारी साधन तथा शंकास्पद व्यक्तिलाई जाँच गर्दै आइएको हो ।’
सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागु औषध ओसारपसार, गाँजा, पटका, विष्फोटक पदार्थ, अन्य आपाराधिक गतिविधि नियन्त्रण गर्न कुकुरसहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी उपरीक्षक तिमल्सिनाले बताए ।