काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनबाट २०७४ साल भदौ १७ गते अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भए । तामाङले ८४५ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिद्वन्द्वन्दी अनिल शर्माले ८२२ मत ल्याएर पराजित भए ।
यसरी अखिल क्रान्तिकारीको ऐतिहासमा पहिलो पटक तामाङ चुनावी विधिबाट निर्वाचित हुँदा आफ्नो छुट्टै व्यक्तित्व बनाउन सफल भए । तत्कालीन एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको संयोजकमा ऐन महर र तामाङ सहसंयोजक हुँदा नेकपाको अन्तर संघर्षमा समेत महरलाई तामाङले पछि पारेर आफ्नो व्यक्तित्व स्थापित गरे ।
अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पञ्चा सिंहसहित सबै पदाधिकारी सर्वसम्मत भएकाले को कति पपुलर छ ? भन्ने थाहा हुन सकेन । त्यतिबेला सर्वसम्मत हुँदा कमिटी ठूलो भएर प्रभावकारी कामसमेत हुन सकेन ।
तामाङकै कार्यकालमा पदाधिकारीमा प्रतिस्पर्धा गरेकाहरु अहिले अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षको दाबी प्रस्तुत गरेका छन् ।
यसरी दाबी गर्नेमा इन्द्रकुमार भुसालले त्यतिबेला उपाध्यक्ष पदमा ८१७ मत, दिपेशकुमार पुनले ९२१ मत ल्याएर निर्वाचित भए । पञ्चा सिंह सर्वसम्मत भएकाले भुसाल पुनः उपाध्यक्षमै दोहोरिए भने पुन महासचिवको जिम्मेवारी सम्हाल्न पुगे । अहिले भुसाल अध्यक्षको दाबेदार हुन् भने पुन सहकारी रकम अपचलनको आरोप लागेपछि अध्यक्षको दाबी कमजोर भएको छ ।
तामाङकै कार्यकालमा उपमहासचिवमा निर्वाचित भएकाहरु तुकमान महराले ३९३ मत, गणेशप्रसाद (जिपी) मैनालीले ७२७ मत, मिलन एमसीले ३४१ मत ल्याएर निर्वाचित भए । पछि पञ्चा नेतृत्वको कमिटीमा ती सबै उपाध्यक्षको जिम्मेवारीमा बसे ।
पूर्वअध्यक्ष तामाङको कार्यकालमा निर्वाचित भएकामध्ये मिलन रिङ आउट भइसकेका छन् । महरा र मैनाली अध्यक्षको प्रतिस्पर्धामा छन् । त्यतिबेला मैनालीले सबैभन्दा बढी मत ल्याएर उपमहासचिवमा निर्वाचित भएका थिए । अध्यक्षको प्रमुख दाबेदारसँगै संगठनको हाल संगठनको प्रवक्तासमेत हुन् ।
यस्तै, तामाङकै कार्यकालमा सचिव निर्वाचित भएकाहरु अध्यक्षमा दाबी गरेका छन् । जसमा नरेश रेग्मीले ३८९ मत , प्रविणा अधिकारीले ३२७ मत, गजेन्द्रसाद देवले ५८० मत, मदन भुलले ४३० मत, सूर्यनारायण साहले ४०४ मत, पवन कार्कीले ४१५ मत, क्षतिज सापकोटाले ७२४ मत, नारायण खनालले ३६९ मत, डा. अच्युत भट्टले ६५४ मत ल्याएर निर्वाचित भएका थिए ।
त्यतिबेला समेत सबैभन्दा बढी मत डा. भट्टले मत ल्याएका थिए । पछि पञ्चा कार्यकाल सर्वसम्मत भएपछि ती सबै उपाध्यक्ष पदमै सेट भएका थिए । अहिले ती सबैले अध्यक्ष पदको दाबी गरेका छन् ।
तामाङ कार्यकालका कोषाध्यक्ष केशव रावलले ५४४ मत ल्याएर निर्वाचित भएका थिए । पछि पञ्चाको उपाध्यक्षको जिम्मेवारीमा थिए । हाल अध्यक्षको दाबी गरेका छन् । त्यस अवस्थमा दुई हजार १५ जना मतदाता रहेका थिए ।