उदयपुर । जिल्लाको कटारी नगरपालिका १० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ ।
वडा कार्यालयनजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका छ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापा मगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोली सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो । ‘अनुसन्धानपछि बिहीबार मात्रै उहाँहरू फर्किनु भएको हो,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले भने ।
उपरीक्षक योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको र रिसमा अभियुक्तले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।
अभियुक्तले घरबाट खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ । आपसी विवाद भएपछि पटकपटक खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।
‘प्रारम्भिक अनुसन्धान मात्रै हो, आज हामीले ७ दिनको म्याद थपेर थप अनुसन्धान थालेका छौँ,’ उपरीक्षक योगीले भने, ‘घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट बरामद गरिएको छ ।’
प्रहरीका अनुसार अभियुक्त भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए । कटारी अस्पतालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शंका गर्नुभन्दा आवश्यक प्रमाण पुराउन समय लागेको प्रहरीले जनाएको छ ।
मृतक महिलाका श्रीमान् अशोक थापा तीन वर्षअघि कान्छी श्रीमती लिएर भारतमा गएका थिए । अभियुक्त मगरका श्रीमती, एक छोरा र छोरी छन् ।