काठमाडौँ । युरोपका धेरै राष्ट्रहरूमा घातक रोग फैलिरहेको छ । विश्व स्वास्थ्य संगठन (WHO) ले यो रोगलाई प्यरोट फिभर नाम दिएको छ । डब्ल्यूएचओले यो रोग निकै खतरनाक भएको बताएको छ । यस रोगबाट हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।
युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार चराहरूमा पाइने ब्याक्टेरियाका कारण प्यारोट फिभर फैलिरहेको छ। यस ब्याक्टेरियाबाट संक्रमित चराले टोकेमा वा मानिसको सम्पर्कमा आएमा त्यो मानिस बिरामी हुने गर्छ । तर, संक्रमित जनावर खाँदा भने यो रोग सर्दैन ।
२०२३ मा पहिलो पटक संक्रमण पुष्टि
अमेरिकी संचारमाध्यमक सीएनएनले आफ्नो रिपोर्टमा डब्ल्यूएचओलाई उद्धृत गर्दै लेखेको छ, ‘प्यारोट फिभरलाई सिटाकोसिस पनि भनिन्छ।ु यस रोगबाट युरोपेली राष्ट्रहरूमा बसोबास गर्ने नागरिकहरूमा धेरै असर पारेको छ। सन् २०२३ को सुरुवातमा पनि यो रोगबाट मानिसहरु संक्रमित भएपनि अहिले भने यसका कारणले ज्यान गुमाउन लागेका छन् ।
डेनमार्कमा २३ जनामा संक्रमण
सीएनएनका अनुसार डब्ल्यूएचओका अनुसार, ‘२०२३ मा अस्ट्रियामा १४ जनामा संक्रमण पुष्टि भएको थियो । तर यो वर्ष मार्चमा मात्रै ४ जनामा संक्रमण देखिएको छ । कुल केस १८ पुगेको छ। सोहि समयमा, डेनमार्कमा फेब्रुअरीको २७ सम्ममा २३ केस पुष्टि भएका थिए।’
२०२३मा जर्मनीमा १४ केसहरू रिपोर्ट गरिएको थियो। यो वर्ष हालसम्म ५ जनामा संक्रमण पुष्टि भइसकेको छ । यसरी, कुल १९ जना संक्रमित भेटिएका छन् । हालसम्म ३ देशमा कुल ६० जना प्यारोट फिभरबाट संक्रमित भइसकेका छन् । नेदरल्याण्ड्समा पनि २१ जनामा संक्रमण पुष्टि भएको छ। डब्ल्यूएचओले हालै भेटिएका धेरैजसो केसहरू घरपालुवा जनावर वा जङ्गली चराहरूको सम्पर्कबाट आएको बताएको छ।
रोगहरु बढ्नुको एउटा कारण जलवायु परिवर्तन
जलवायु परिवर्तनका कारण संक्रमण फैलिरहेको कैयौं अनुसन्धानले देखाएको छ । तल्लो र गर्मी स्थानमा बसोबास गर्ने जनावरहरूले बढ्दो तापक्रम सहन नसक्ने भएकाले माथिल्लो र चिसो ठाउँमा बसाइँ सर्ने गरेका छन् । यससँगै पहिले नभएका स्थानहरूमा पनि रोगहरु पुगेका छन् । तापक्रम बढेपछि संक्रमितको संख्या पनि बढिरहेको छ । जलवायु परिवर्तनका कारण हरेक वर्ष करिब २ करोड मानिस विस्थापित हुने गरेका छन् ।
यी सबै कारणहरूले संक्रमण फैलिनका लागि उपयुक्त अवस्थाहरू सिर्जना गरिरहेका छन्। पहिले हटिसकेका र नयाँ रोग, दुवै बढ्दै गएका छन् । जसका कारण मृत्युदर बढ्दै गएको छ । यस्तो अवस्थामा जलवायु परिवर्तनले हाम्रो आयुमा पनि असर गरिरहेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार मौसममा आएको परिवर्तनले मानिसको जीवनमा बढ्दो असर गरिरहेको छ । २०३० देखि २०५० सम्म, औलो वा दूषित पानीको कारण लाग्ने रोगहरुबाट साढे २ लाख जनाले ज्यान गुमाउन सक्छन्।
एजेन्सीको सहयोगमा ।