काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर जनताको किक कस्तो हुन्छ भन्ने देख्ने बताएका छन् । सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष समेत रहेका ओलीले प्रचण्डलाई एक किक दिएपछि बरबराउन थालेको आफ्नो पार्टी बैठकमा बोलेका थिए । उक्त शब्दलाई लिएर प्रचण्डलाई बिझेपछि जनताको किक कस्तो हुन्छ भनेर देख्ने चेतावनी दिएका हुन् ।
प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै प्रचण्डले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’
प्रचण्डले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएकाले यस्ता प्रवृत्तिको भण्डाफोर गर्न आह्वान गरेका छन् ।
जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको ब्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरुले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।’