काठमाडौँ । मोरङमा दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ७ मालती टोलकी २१ वर्षीया अस्मिता पौडेल रहेकी छन् ।
उनलाई प्रहरीले बुधबार बिहान झापाको विर्तामोड नगरपालिका ५ पूर्व पश्चिम राजमार्ग नजिक एभरेष्ट बैंकअगाडिबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
पौडेल भदौ १५ गते अपराह्न साढे ४ बजेपछि फरार भएकी थिइन् । सोही दिन सुन्दरहरैंचा ७ को केरा बगानमा उनका दुई छोरी मृत अवस्थामा फेला परेका थिए ।
एक वर्षीया आइङ्का र तीन वर्षकी छोरी अर्पनालाई विष सेवनपछि मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । कार्कीका अनुसार पौडेलले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ ।
श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा विवाद भएपछि उनी छोरी लिएर घरबाट निस्केकी थिइन् । उनीहरू श्रीमान् श्रीमतीबीच पटक पटक घरायसी कुरामा विवाद हुने गरेको बुझिएको छ ।
श्रीमानले नाबालिका छोरीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी कसुरमा पौडेलविरूद्ध जाहेरी दिएका छन् । पौडेललाई मोरङ जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ ।