न्याउरी मुसा मार्न थापेको जालमा परेर हात्ती मरेपछि…

0 Shares

काठमाडौं । मंगलबार मोरङको बेलबारी नगरपालिका ३ मा मृत भेटिएको हात्तीको बच्चा (छावा) विद्युतीय धरापले मरेको भन्दै एक जना पक्राउ परेका छन् ।

मंगलबार बिहान स्थानीय विनोद थापाको टिक (एक प्रकारको रुख) बगानभित्र अन्दाजी २(३ वर्षको पोथी छावा मरेको अवस्थामा भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धाका क्रममा न्याउरीमुसोका लागि थापेको विद्युतीय धरापमा परेर हात्ती मरेको देखिएको प्रहरीले जनाएको छ ।

पासो थापेको आरोपमा बेलबारी नगरपालिका ३ का ४६ वर्षीय तेजबहादुर राई पक्राउ परेका छन् । उनलाई कारवाहीका लागि वन कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नतले बताए ।

उनीविरुद्ध वन कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान सुरु गरेको छ । घरमा पालेका कुखुरा न्याउरीले खाएर दुःख दिएपछि न्याउरी मार्नका लागि पासो थापेको देखिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार