काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ४ लामाचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्यामा संलग्न रहेको आरोपमा एक युवकलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आइतबार सार्वजनिक गरेको छ । हत्यामा संलग्न चौरजहारी नगरपालिका ११ माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्ललाई प्रहरीले सार्वजनिक गरेको हो ।
प्रारम्भिक अनुसन्धानबाट मृतक सुशीला र प्रेमबीच डेढ वर्षअघि जाजरकोटको रिम्ना मेलाबाट चिनजान भएको थियो । क्रममा उनीहरूबीच फोन नम्बर साटासाट गरी भेटघाट हुने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार सोही क्रममा साउन २१ गते सोमबार प्रेम भेटघाटका लागि आफ्नो घरबाट मृतक सुशीलाको घरमा पुगेका थिए । सोही दिन राति सुशीलासँगै बसेको खुलेको छ ।
‘२२ गते बिहानै उठी रिम्ना बजार, चाइनाबगर गई घुमफिर गरेर साँझ पुनः सुशीलाको घरमा गई राति १२ बजे मृतक सुशीलाले हाम्रो सम्बन्धबारे गाउँघरका मानिसहरूले थाहा पाइसकेका छन्, तिमीले मलाई विवाह गर भनी प्रस्ताव राखेकोमा प्रेमले सुशीलालाई विवाह गर्न नसक्ने अवस्था भएकाले सुशीलालाई मार्ने मनसाय बनाई प्रतिवादीले तावा, सिलौटो, लोहोरोलगायतका घरेलु औजारले प्रहार गरी सलले घाँटीमा बाँधी थिचेर मारेको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी पोखरेलले भने ।
घटनापश्चात् मृतक सुशीलाको मोबाइल आफ्नो कोठामा लुकाएर राखेको अवस्थामा बरामद गरिएको छ । आइतबार जिल्ला अदालत रुकुम पश्चिमबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा प्रतिवादीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक सुशीला साउन २३ गते बिहान आफ्नै घरमा मृत फेला परेकी थिइन् । घटना शकांस्पद देखिएपछि प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । सोही क्रममा हत्यामा संलग्न प्रेमलाई चौरजहारी नगरपालिका ११ घर नजिकबाट शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।