जहाज दुर्घटनाको दुई हप्तापछि हेलिकप्टर खस्यो

0 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुबेँसी जान उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । चार जना चिनियाँ यात्रु लिएर उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टर विमानस्थलबाट उडेको करिब तीन मिनेटमा सम्पर्कविहीन भएको जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाव झाका अनुसार हेलिकप्टरमा चार जना यात्रु सवार थिए । ‘दुर्घटना भएको हेलिकप्टरमा चार जना यात्रु सवार छन्, दुर्घटनापछि खोज्नका लागि दुई हेलिकप्टर खोज्न गएको छ,’ उनले भने ।

दुर्घटना भएको हेलिकप्टरमा सवार सबै पाँच जनाको शव फेला परिसकेको छ । जसमा पाइलट मल्लसहित चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।

हेलिकप्टर आज बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुई हप्ताअघि अर्थात ९ गते बुधबार त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको थियो । चालक दलका सदस्यसहित १९ जना सवार ९ एन एएमई जहाज बिहान करिब ११ बजेतिर दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

दुर्घटना भएको जहाजबाट क्याप्टेन मनिषरत्न शाक्यको सकुशल उद्धार गरिएको थियो । अस्पतालका अनुसार उनको टाउकोमा चोट लागेको छ । शरीरको अन्य भागमा पनि चोट लागेको थियो । अहिले उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

सौर्य एयरको जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको थियो । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी-चेक)का लागि पोखरा जाने क्रममा दुर्घटना भएको हो ।

जहाज दुर्घटनामा सौर्यका इन्जिनियर तथा प्राविधिकहरु सवार थिए । जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । सोही क्रममा पोखरा जान उडेको जहाज दुर्घटनामा परेको थियो ।

 

सम्बन्धित समाचार