काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ । उर्जा मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको हो ।
उनीहरू दुवै जना डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौता उठाउने विषयमा प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिँदै आएका थिए । कुलमानले डेडिकेटेड र ट्रंकलाइनको सुविधा लिएर महशुल बुझाउनु पर्ने बताउँदै आएका थिए ।
दुवै जनालाई गत साउन १५ गते मन्त्रालयले स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणको जवाफ बुझाएसँगै साउन १८ गते उर्जा मन्त्रालयले दुवैलाई हटाएको थियो ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् ।
विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीचको विवाद संसद्को सार्वजनिक लेखा समितिमा समेत पुगेको छ । प्रबन्ध निर्देशक घिसिङले समितिको बैठकमा बक्यौता नतिरे उद्योगको लाइन काटिदिने आफ्नो अडान कायमै रहेको बताएका थिए ।
केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै बिजुलीको पैसा नतिर्ने उद्योगमा लाइन जोड्न दबाब दिँदै आएका थिए । प्रधानमन्त्रीको दबाबका बीच प्राधिकरणले पैसा नतिर्ने उद्योगमा केही महिनाका लागि लाइन जोडेको छ ।