काठमाडौं । गत असार २८ गते बिहान ३ बजे त्रिशूली नदीमा खसेर बेपत्ता बससहित यात्रुको खोजी गर्न सरकारले भारतपछि चीन सरकारसँग सहयोग माग्ने भएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहसचिव एकनारायण अर्यालले त्रिशूलीमा बेपत्ता बस खोज्न चीनसँग पनि सहयोग माग्ने तयारी भएको बताए । उनले भने, ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौँ ।’
मुग्लिन–नारायणघाट सडकअन्तर्गत भारतपुर महानगर २९ वडामा पर्ने सिमतालमा लेदोसहित पहिरोमा परेर दुई बस त्रिशूलीमा खसेको थियो । बसमा सवार ६५ यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भए । हालसम्म २४ वटा शव फेला परेका छन् । बाँकी यात्रु बेपत्ता छन् ।
यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो । उनीहरूको प्राविधिक टोलीले बस र यात्रुबारे कुनै जानकारी पत्ता लगाउन सकेका थिएनन् ।
पहिरोमा काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको दुई बससहित ६५ जना नदीमा खसेको थियो ।
बस र यात्रुको खोजीमा सशस्त्र प्रहरी बलसहित सुरक्षाकर्मीको टोली खटिए पनि कुनै जानकारी पाउन सकेको छैन । फेला परेको शवहरूसमेत नदीले बगाएर भारतीय सीमामा पुर्याएको अवस्थामा फेला परेको थियो ।