काठमाडौं ।
नेकपा माओवादी केन्द्रले आगामी निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडा भएको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा कुनै तालमेल वा गठबन्धन नगर्ने बताएका हुन् । पार्टी बलियो बनाउन पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
निर्वाचन लड्दा गठबन्धन वा तालमेल गर्दा जनताले मन नपराएको निष्कर्ष निकाल्दै माओवादीले एक्लै चुनाव लड्ने घोषणा गरेको हो । सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नु पर्ने छ, त्यसले गर्दा एक्लै चुनाव लड्ने गरी तयारी गर्नु छ,’ उनले भने, ‘हामीले के निष्कर्ष निकालेका छौँ भने हामी जनतामा जाने एउटा सुर्वण अवसर आएको छ, हामी समीक्षासहित जनतामा जाने निर्णय गरेका छौँ ।’
पार्टी पुर्नजागरण अभियानलाई प्रभावकारी बनाउन कार्य योजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको उनको भनाइ थियो । उनले गठबन्धनमार्फत निर्वाचनमा जाँदा पार्टीको एजेण्डा जनतामा लैजान नसकेको स्मरण गरे ।
बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउँदै भ्रष्टाचार नियन्त्रणका साथै सुशासन कायम गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको उनको भनाइ थियो ।
यस्तै पदाधिकारी बैठकले सबै कम्युनिष्टहरुसँग ध्रुवीकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरुको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए ।